
भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।
उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए ।
चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।
महानगरले आर्थिक वर्ष २०८०÷८१ का लागि रु ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ विनियोजित रु तीन अर्ब ७२ करोड ६५ लाख ६ हजारमा पुस मसान्तसम्म रु ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष रु एक अर्ब ७५ करोड आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म रु ५३ करोड तीन लाख सङ्कलन भएको छ ।