
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि निर्वाचन आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको उनले बताए ।
उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिहृन भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।
आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । आइतबार मतदाता नामावली प्रकाशित गरिसकेको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुईवटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।