२६ असार २०८३, शुक्रबार

रोहिंग्या हिन्दूहरूलाई कसले आश्रय दिइरहेको छ ?

कात्तिक २०, २०७४
रोहिंग्या हिन्दूहरूलाई कसले आश्रय दिइरहेको छ ?

काठमाडौं, १७ असोज — साँझ पर्न लागेको छ अनि बंगलादेश–म्यान्मार सीमामा रहेको एक गाउँमा मानिसहरू खानेकुरा राखेको भाँडोमा हेरेर बसेका छन् ।


बच्चाहरूको अनुहारमा बढी उत्साह देखिन्छ किनकि उनीहरूले सबभन्दा पहिले खानेकुरा पाउँछन् । नजिकै एउटा ह्यान्डपम्प छ जसबाट पानी भर्नका लागि मानिसहरू लाइन लागेका छन् ।

तर यो लाइनबाट केही पर एक गर्भवती युवती चुपचाप बसेकी छन् ।

अनिता धर जम्मा १५ वर्षकी भइन् र उनले यति सानै उमेरमा पूरै जिन्दगी बाँचिसकिन् जस्तो देखिन्छ ।

कुराकानी गर्दा पनि उनको पीडा गहिराइबाट निस्केर बाहिर आउँछ ।


अनिताले अवरुद्ध गलाका साथ भनिन्, ‘कालो मुकुण्डो लगाएका केही मानिस आए, लूटपाट गरे अनि मेरा पतिलाई लिएर गए । भोलिपल्ट उनको लाश जंगलमा भेटियो । टाउको काटिएको थियो र शरीरमा हात पनि थिएनन् ।

आफ्नो गर्भमा हुर्किरहेको बच्चाका बारेमा सोचेर म त्यहाँबाट भागें । तीन दिनसम्म भोको पेट घना जंगल हुँदै हामी यहाँ पुगेका हौं ।’

अनिताका पति हजाम थिए र सन् २०१६ मा उनीहरूको विवाह भएको थियो ।

अनिता जस्ता १६० हिन्दूहरू म्यान्मारबाट भागेर बंगलादेशको कक्सेस बजारस्थित कुतुपालोङ क्षेत्रमा पुगेका छन् ।

म्यान्मारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानहरूबाहेक हिन्दूहरू पनि छन् ।

डेढ महिनाअघि लगभग साढे चार लाख रोहिंग्या मुसलमान जस्तै हिन्दूहरू पनि भागेर आएका छन् ।

मुसलमानहरू जस्तै रोहिंग्या हिन्दूसँग पनि नागरिकता छैन ।

म्यान्मारबाट भागेका ५५० हिन्दूहरूमध्ये लगभग सबैले आफूहरू जातीय हिंसाको शिकार भएको बताएका छन् ।

शोभा रुद्र पनि यिनै शरणार्थीमध्येकी एक हुन् । आफ्नो परिवार जिउँदै भाग्न सफल भएको कुरामा मात्र उनको सन्तुष्टि छ ।


शोभा भन्छिन्, ‘मेरो पूर्ण परिवार थियो । एकदिन मेरो काकाको घरमा आक्रमण भयो र उहाँलाई गोली हानियो । मेरी काकाकी छोरीलाई पनि बलात्कारपश्चात् हत्या गरेर मारियो । हामीले भाग्नुप–यो । त्यहाँ हामी कहिलेपनि फर्केर जाँदैनौं । यहाँ हामीलाइ कसैले लखेटेको त छैन नि ।’

यो सीमावर्ती गाउँमा २५ हिन्दू परिवार छन् जसले शरणार्थीहरूलाई आश्रय दिइरहेका छन् ।

स्थानीय अल्पसंख्यक हिन्दूहरू आफैं गरीब छन् तर संस्थाहरूको सहायता लिएर उनीहरूले गाउँको एक कुखुरा फारममा ठूलो शिविर बनाएका छन् ।

बिहान बेलुका खाना पाक्छ र सबैलाई पस्किइन्छ । शिविरको चारैतर्फ बनेका घरहरूमा महिला र बच्चाले बस्ने व्यवस्था मिलाइएको छ ।

यही गाउँमा जन्मेका बाबुलको परिवारमा चारजना छन् । तैपनि उनीहरूले पाँच शरणार्थीलाई आश्रय दिएका छन् ।


उनले भने, ‘यिनीहरू घरवारविहीन भएको र सहायताको आवश्यकता भएको हामीले देख्यौं । झुप्रो बनाइदिनका लागि मेरो आफ्नै जमीन त छैन । त्यसैले मैले आफ्नै घरमा यिनीहरूलाई शरण दिएँ ।’

आफ्नो जन्मस्थान छोडेर भाग्नुपर्दा शरणार्थीहरूले परिवारका सदस्य गुमाउनुपरेको भएपनि अर्को देशमा उनीहरूले सहारा भेटेका छन् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्