
बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आउनुभएका सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित हुन थालेको बताए।
उत्पादित कृषिउपजले बजार नपाउँदा किसानले हातमुख जोड्न समस्या भएको बताएपछि किसानसम्बद्ध सङ्घसंस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । किसानलाई प्रोत्साहन कम भएको जनाउँदै सूर्याेदय उद्योग वाणिज्य सङ्घ, नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घ, एलाइन्स फर एग्रो इन्टरप्रेसनर्स र हिमालयन चिज उत्पादक सङ्घले सूर्योदय नगरप्रमुख रणबहादुर राईलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सूर्योदय नगरमा दिनहुँ उत्पादन हुने करिब ६० हजार लिटर दूधको बिक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल ‘स्टक’ रहेको ३७ हजार किलो घ्यू र ४८ हजार किलो छुर्पी र ९३ हजार किलो चिज (इलाम जिल्ला भरको) बिक्रीका लागि व्यवस्था गर्न माग गरिएको नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घका सचिव मदन पौड्यालले बताए ।
इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याति कमाएको जिल्ला भए पनि जीवनयापनको आधार सङ्कटग्रस्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।