
राष्ट्रिय सभाको उम्मेदवार चयन कांग्रेस महामन्त्री विश्वकप्रकाश शर्माले ६ बुँदे फरक मत राखेका छन् । संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरेको, समावेशी नबनाएको, नेतृत्वले एकलौटी गरेको, योग्य र योगदान गरेकालाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’ शार्माले प्रश्न गरेका छन्, ‘राष्ट्रिय सभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।’
निक्कै सकसबीच गएराति कांग्रेसले पाएका १० वटै सिटमा उम्मेदवार टुंग्याएको थियो ।
कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेश प्रदेशमा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशमा जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, गण्डकी प्रदेशमा किरणवावु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा, कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको हो ।
१० मध्ये संस्थापनका ७ र इतर पक्षका तीन उम्मेदवार छन् ।
यस्ता छन् शर्माका ६ बुँदे विमति
१ उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत
२ संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?
३ राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र रु कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४ समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
५ नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६ राष्ट्रिय सभाकै नेतृत्व गर्नेगरी अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।