
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण सार्वजनिक गरेको छ ।
सोमवार आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम गर्दै मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा हालसम्म गरेको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार १९ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी इकाई भवनको बहुवर्षीय सुनिश्चिता पश्चात निर्माणका लागि २६ करोड ५५ लाख रुपैयाँ बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरूलाई अख्तियारी प्रदान गरिएको छ ।
यस्तै, भौतिक संरचनाको संरचनात्मक सुधारको लागि थप ५ करोड ५६ लाख पनि अख्तियारी दिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसबीचमा ११ वटा प्रहरी भवनको उद्घाटन भएको छ ।

प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुलिखेलमा सम्पन्न भएको, रामेछापमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्बन्धित सरोकारवालाहरूबीच सञ्चालन गरिएको र काठमाडौंमा सबै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीहरूको सहभागितामा प्रहरी समायोजन लगायत मन्त्रालयको कार्यक्षेत्रसम्बन्धी गोष्ठी सम्पन्न गरेर तुरुन्तै प्रहरी समायोजन गर्न प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराइएको प्रगति विवरणमा उल्लेख छ ।