
काठमाडौं, १७ असोज — आफूलाई बलिउड तथा ट्विटर जगतको गुण्डा भन्ने अभिनेता ऋषि कपूर पत्रकारसँग रिसाएका छन् । यसपटक ऋषिले एउटा समारोहमा पत्रकारहरूलाई देख्नेबित्तिकै रिस देखाए ।

आफ्नो छोरो रणवीर कपूरले पाकिस्तानी अभिनेत्री माहिरा खानका साथ चुरोट पिएको तस्वीर मिडियाले छपाएपछि ऋषिको रिसको पारो चढेको हो ।
पत्रकारले रणवीरका बारेमा प्रश्न सोध्लान् भनेर ऋषि पहिले नै झर्कोफर्को गर्न थाले । रिसले रातो भएको अनुहार अनि चर्को आवाजका साथ उनले भने, ‘कसैले जे पायो त्यही प्रश्न सोधेमा म उसलाई मारिदिन्छु । मलाई व्यक्तिगत प्रश्न सोध्ने होइन ।’
फोटो खिचाउने बेलामा पनि ऋषि कपूर झर्कोफर्को गर्न थाले । एक फोटोग्राफरलाई उनले भने, ‘म तिमीले भन्यौ भन्दैमा यताउता हेर्दिनँ । म कसैलाई कुनै लूक दिन्नँ । म आफ्नै तरिकाले फोटो खिचाउँछु । म सबै कुरा बुझ्छु ।’
ऋषि कपूरको पारा देखेर पत्रकारहरू तर्सिएपछि उनलाई अलि बढी नै बोलें कि क्या हो भन्ने लागेछ । अनि वातावरणलाई सहज बनाउनका लागि उनले भने, ‘तपाईंहरूको क्यामराको प्रकाश अलि चर्को भयो । मलाई गर्मी भयो । अलिक टाढा गइदिनुस् न ।’
आजकल ऋषि कपूर अनेकौं समस्यामा घेरिएका छन् । छोरो रणवीरका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हजुरबुवाले बनाएको आरके स्टुडियोमा आगो लागेर धेरै नोक्सानी पनि भयो । त्यसैले गर्दा ऋषि कपूर आजकल पत्रकार देख्यो कि झम्टिने भएर गएका छन् ।
एजेन्सी