
काठमाडौं, १७ असोज — उत्तर कोरियाले जापानमाथि आणविक बादल बनाइदिने धमकी दिएको छ ।

जापानले प्योङयाङको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम जारी रहँदा उसमाथि थप दबाब दिनुपर्ने बताएपछि उत्तर क्रुद्ध भएको हो ।
आणविक युद्ध भएमा जापान आगोले घेरिने समेत उसले बताएको छ ।
जापानका अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायसँग प्योङयाङमाथि अत्यधिक दबाब दिने आग्रह गर्नु ‘लगभग बौलाहा कदम हो’ भनी उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सोमवार लेख्यो । आफूविरुद्ध कारवाही गराउन खोजेर जापान र उसको साझेदार अमेरिकाले ‘कोरियाली प्रायद्वीपको स्थितिलाई झनै बिगारेको’ केसीएनएले लेख्यो ।
‘कोरियाली प्रायद्वीपमा तनाव भड्काउनु भनेको आत्मघाती कदम हो जसले जापानमाथि आणविक बादलको खतरा बढाउँछ,’ उक्त लेखमा उल्लिखित छ ।
यसअघि उत्तरले जापानलाई डुबाइदिने अनि ऊ हामीनजिक बस्ने कुनै आवश्यकता नरहेको भनी बयान दिएको थियो ।
सेप्टेम्बर महिनामा जापानी प्रधानमन्त्री शिन्जो आबेले ‘वार्ता नभई दबाब नै उत्तर कोरियालाई सबै किसिमका आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्नका लागि उपयुक्त हुने’ भनी संयुक्त राष्ट्रसंघको साधारणसभामा सम्बोधनका क्रममा बताएका थिए ।
एजेन्सी