
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजनामा गरेको अन्तरक्रियामा बोल्दै उनले कानुनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी दिए ।
सभामुख घर्ती मगरले विकास निर्माणसँगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउँदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संवेदनशील रहेको बताए । प्रदेश सभा र स्थानीय तहबीच अन्तरसम्बन्ध स्थापित गरी सुशासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपसभामुख मेनुका खाण केसीले स्थानीय तह र प्रदेश सभाबीच सहकार्य जरुरी रहेको बताइन् ।
नेकपा एमाले प्रमुख सचेतक तुल्सी चौधरीले स्थानीय तहलाई अझै क्रियाशील बनाउन स्थानीय ऐनको आवश्यकता रहेको बताए । प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउँदै सोही अनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।