२५ असार २०८३, बिहीबार

माघ २६ गतेदेखि मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

पुस २६, २०८०
बुटवल
माघ २६ गतेदेखि मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

यस क्षेत्रकै प्रतिष्ठित नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेदेखि बुटवलमा हुने भएको छ । ३ विभागीय र ७ प्रदेश गरी १० समूह सहभागी हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको मणिमुकुन्द क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । 

राष्ट्रिय भलिबलको नियमअनुसार सञ्चालन गरिने प्रतियोगिताबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यो सिजनमा पुरस्कार राशीसमेत वृद्धि गरिएको जानकारी दिए । 

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । 

यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । 

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

क्लबको खेलमैदान तिलोत्तमा–२ जोगिकुटीमा फागुन २ गतेसम्म एक साता सञ्चालन हुने प्रतियोगिताका सबै खेल म्याटमा हुने गुरुङले बताए । 

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख बढी खर्च अनुमान गरिएको बताउँदै वरिष्ठ उपाध्यक्ष चन्दले तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद तथा विभिन्न निजी संस्थाहरुसँग सहकार्य गरिएको जानकारी गराए । 

प्रतियोगिताको मुख्य प्रवर्द्धक खेलकुद परिषद लुम्बिनीका अध्यक्ष जयप्रकाश भट्टराईले आर्थिक सहयोगसँगै अभिभाकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता गरे ।

salt training

कमेन्ट गर्नुहोस्