
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको आयोजनामा बिहीबार बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको प्रदेश सुशासन केन्द्रको हलमा सम्पन्न कार्यक्रम अख्तियारका आयुक्त किशोर कुमार सिलवालको अध्यक्षता र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अख्तियारले जनाएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठले भ्रष्टाचार महारोगको रूपमा रहेको भन्दै भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व र कार्यशैली मुख्य रूपमा जिम्मेवार रहेको बताए ।
उनले सत्ता र सम्पत्तिलाई सत्यको स्रोत मान्ने सामाजिक मनोविज्ञान घातक रहेको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनालाई परिवर्तन गरी थप अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा प्रमुख सचिव घनश्याम उपाध्यायले आयोगमा उजुरी परेको कारण देखाउँदै विकासका कामको प्रक्रिया रोक्न नहुने धारणा राखे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकासको बाधक नभएको भन्दै प्रदेश सरकारको तर्फबाट कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गरे ।
यसै गरी आयुक्त किशोर कुमार सिलवालले कानुनको परिपालनाको मापन नभएको र सामान्यतया कमजोर परिपालना रहेको बताए। उनले संघीय र प्रादेशिक कार्यपालिकाबाट नीतिगत निर्णयका नाममा व्यवस्थापकीय कामका निर्णयहरू हुने गरेको देखिएको उल्लेख गरे । उनले अहिले भ्रष्टाचार बढेको चर्चा सर्वत्र रहेको तर नियन्त्रणका लागि चासो र सक्रियता कम हुनु मुख्य चुनौतीको रूपमा रहेको बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता कृष्ण मोहन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धमा रहेका कानुनी व्यवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन प्रवर्द्धन गर्न एवं भ्रष्टाचार नियन्त्रणमा गरेका काम कारबाहीहरू, आयोगको कामको सामान्य प्रक्रियाको बारेमा जानकारी गराए । यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे तथ्याङ्क सहित जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख, बागमती प्रदेशका प्रमुख सचिव, जिल्ला समन्वय समिति, मकवानपुरका उपप्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, बागमती प्रदेशका प्रदेश सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, मकवानपुर जिल्लास्थित संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका कार्यालय प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, नागरिक निगरानी संस्था, मकवानपुरका अध्यक्ष एवं सञ्चारकर्मीहरु र अन्य कर्मचारीहरु गरी २०३ जनाको सहभागिता रहेको थियो।