
क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भई सजायसमेत तोकिएपछि उनले राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर लेखिएको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई आठ वर्षको जेल सजाय सुनाएको छ । उनले बलात्कार मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने बताइसकेका छन् ।
बलात्कार मुद्दामा दोषी ठहर भई राष्ट्रिय टोलीबाट अलग भएका सन्दीपले यसअघि छोटो समयमै ठूलो उपलब्धी हासिल गरेका छन् । सन्दीपले हालसम्म कुनै पनि नेपाली खेलाडीले नपाएको सफलता प्राप्त गरे ।
२०५७ सालमा स्याङ्जाको एउटा मध्यम परिवारमा जन्मिएका सन्दीपले कलिलै उमेरमा क्रिकेट जीवनको लामो यात्रा तय गरे । छोटो यात्रामा उनले ‘विश्व रेकर्ड’हरू पनि राखे ।
सन्दीप छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटर हुन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् ।
२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए ।
५० ओभरको फर्म्याटमा कम खेलमा सय विकेट लिने सन्दीप पहिलो बलर हुन् । एकदिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान उनको नाममा छ । उनले ४२ खेलमा सय विकेट पूरा गरेका थिए ।
५२ अन्तर्राष्ट्रिय टी–२० मा उनले ९८ विकेट हात पारेका छन् ।
चितवनमा एकेडेमीबाट क्रिकेट खेल्न शुरू गरेका सन्दीपले राष्ट्रिय टोलीमा स्थान मात्रै बनाएनन्, टोलीको कप्तानसम्मको जिम्मेवारी पाए । २०१८ मा वेष्ट इण्डिजविरुद्ध खेल्दै उनले टी–२० आईमा डेब्यु गरेका थिए । एक दिवसीयमा भने २०१८ को अगष्टमा नेदरल्याण्डविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।
उनी नेपाली क्रिकेट टोलीको कप्तानसमेत रहे । सन् २०७८ मा नेपाल किकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गर्दा उनी २१ वर्षका थिए । तत्कालीन कप्तान ज्ञानेन्द मल्ललाई पदमुक्त गर्दै क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो।
२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरूद्ध बलात्कारको जाहेरी दर्ता हुँदा उनी नेपाली टोलीको कप्तान थिए । त्योबेला उनी क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए ।
असोज २० गते सामाजिक सञ्जालमार्फत् जानकारी गराएरै सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यहीँबाट प्रहरीले उनलाई समातेको थियो ।
उनले हासिल गरेको सफलता ग्राफ आफैँमा निकै लोभलाग्दो थियो । उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा अब भने 'ब्रेक' लाग्ने भएको छ ।
छोटो समयमै नाम र दाम दुवै कमाइरहेका उनको करिअर अहिले करिब समाप्तिको बिन्दुमा छ । आफ्नै कारण २३ वर्षकै उमेरमै उनको करिअर समाप्तितिर पुगेको छ । उनी शिखरबाट सिधैं पिँधमा पुगेका छन् । उसो त उनलाई क्यानले पनि बिहीबार नै निलम्बन गरिसकेको छ ।