बेलायती र अमेरिकी फौजले यमनका हूथी विद्रोहीविरुद्ध हवाई आक्रमण शुरू गरेका छन् । अमेरिका र बेलायतले लाल सागरमा व्यापारिक जहाजलाई निशाना बनाउने हुथी विद्रोहीविरुद्ध ठूलो कारबाही शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुवै देशका सेनाले यमनका धेरै ठाउँमा हुथी विद्रोहीको स्थानमा हवाई हमला गरेका छन् । यी हवाई हमलाहरूमा हुथी विद्रोहीहरूले ठूलो क्षति बेहोरेको समाचारमा उल्लेख छ । उनीहरूको लुकेका धेरै ठाउँहरू ध्वस्त भएका छन् ।
राजधानी सनासहित रेड सी मा हूथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा आक्रमण भएको बीबीसीले जनाएको छ । अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सना सहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हूथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन् । हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आक्रमणको पुष्टि गरेका छन् । रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको उनले बताएका छन् । उनले यो हवाई आक्रमण 'सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम' भएको बताएका छन् ।
यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हूथीले इजरेलतर्फ जाने पानी जहाजहरूलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेका छन् ।
अमेरिका र बेलायतको आक्रमणपछि पश्चिम एशियामा तनाव बढ्ने संकेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।
आक्रमणहरू शुरू भएपछि साउदी अरबले अमेरिका र उसका सहयोगीहरूलाई संयम अपनाउन आग्रह गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश यी आक्रमणबाट चिन्तित रहेको र स्थितिको निगरानी गरिरहेको जनाएको छ ।