
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफू अनुकूल अवस्था नदेखेपछि उम्मेदवारी फिर्ता लिएको छ ।
राप्रपाबाट अन्य पदमा उम्मेदवारी दिएका निरञ्जनकुमार थापाले निर्वाचनको मत आफू अनुकूल नदेखेपछि उम्मेदवारी फिर्ता लिएको लोकान्तरसँग बताए । राप्रपाले कसैसँग तालमेल भने गरेको छैन ।
तर महिलाको उम्मेदवारी भने कायम राखेको छ ।
महिला कलस्टरमार्फत् उम्मेदवार रहेकी कपिलवस्तुकी विजयालक्ष्मी सिंहको उम्मेदवारी भने कायम रहेको राप्रपाका सह–महामन्त्री ताहिर अलीले जानकारी दिए ।
‘निर्वाचनको मिति आउन अझै समय बाँकी छ’, ताहिरलले लोकान्तरसँग भने, ‘अहिले हामीले कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गरेका छैनौं । निर्वाचन हुने बेलासम्म पार्टीले जे निर्देशन गर्छ, त्यहीअनुसार अघि बढछौं ।’
लुम्बिनीमा राप्रपाको चार प्रदेश सांसद र स्थानीय तहका ३ जना जनप्रतिनिधि गरी कुल २६९ मतभार रहेको छ ।
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ ।
लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५ मतदाता छन् । लुम्बिनीमा कुल मतभार ८ हजार ७५३ रहेको छ ।