०१ असार २०८३, सोमबार

जब सडक बालबालिकाले दशैंको टीका थापे

कात्तिक २०, २०७४
जब सडक बालबालिकाले दशैंको टीका थापे

चितवन, १८ असोज– सडकबाट उद्धार गरिएका मानवसेवा आश्रम, चितवनमा आश्रित असहायसँगै सामूहिक दशैँ मनाइएको छ ।

विजया दशमीको चौथो दिन मंगलबार साँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

सडकबाट उद्धार गरिएका ५२ जना मनोरोगी र सडकबाट उद्धार गरिएका तथा आश्रममै जन्मिएका गरी ३२ जना बालबालिकासँगै मंगलबार सामूहिक दशैँ मनाइएको हो ।

बालबालिका गोरखामा बस्ने गरेपनि दशैँ मनाउन यहाँ आएका थिए । मंगलबार उनीहरुलाई आश्रममा भेला भएका अभिभावकले टीका र जमरा लगाई आशीर्वाद दिएर दशैँ मनाइएको थियो ।

अभिभावकले उनीहरुलाई गच्छेअनुसार दक्षिणासमेत दिएका थिए । आश्रमका अभिभावक कृष्णराज धरेलले यसरी सामूहिक दशैँले भाइचाराको समेत विकास हुने र आश्रममा रहेका लक्ष्मी—नारायण (महिला तथा पुरुष आश्रित) लाई समेत सकारात्मक प्रेरणा मिल्ने बताए ।

यसअघि सोमबार आश्रमले हेटाँैडामा रहेको मुख्य कार्यालयमा यसैगरी सामूहिक दशैँ मनाएको थियो । धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमासम्म नै दशैँको टीका लगाउने चलन छ ।

मंगलबार भरतपुरमा भएको कार्यक्रममा मानवसेवा आश्रम भौतिक प्रवद्र्धन परिवार, चितवनका संयोजक प्रेमकुमार श्रेष्ठ, आश्रमका अभिभावक महेश्वरी थापा, संगीता भट्टराई, ओमकार कँडेल, गणशेखर शर्मालगायतको सहभागिता रहेको थियो ।

आश्रमको हेटौंडासहित चितवन, काठमाडौँ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बागलुङमा रहेका शाखामा गरी हाल सडकबाट उद्धार गरिएका ३२२ जना असहायले सेवा पाइरहेका छन् ।

उनीहरुलाई देशविदेशमा रहेका नेपालीको सहयोगमा आश्रमले पालनपोषण तथा उपचार गर्दै आएको छ । २०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनःस्थापित गरिसकेको छ ।

विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको छ ।

salt training

कमेन्ट गर्नुहोस्