
न्युयोर्क–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् । सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एकजना सदस्यको मृत्यु भएको उल्लेख गर्दै शनिवार कडा निन्दा गरेका हुन् ।
‘महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गर्नु भएको छ,’ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तरराष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराएका छन् । गुटेरेसले आतङ्कवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन रहेको उल्लेख गरेका छन् ।
उनले सोमालियालाई स्थिर, सुरक्षित र समृद्ध देश बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्याएका छन् । अल–शबाब अतिवादी समूहले यहाँ प्रायः दैनिक आक्रमण गर्ने गरेको छ।