
विसं २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकता जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ ।
आलमको मुद्दामा आज पेशी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले लोकान्तरलाई जानकारी दिए ।
अन्तिम सुनुवाइका लागि भनेर पेशी तोकिए पनि अधिकांश न्यायाधीश विदामा रहेकाले आजै फैसला आउनेमा उनले शंका गरे ।
‘तीनजना श्रीमान् विदामा हुनुहुन्छ, दुईजना काठमाडौं जानुभएको छ,’ उनले भने, ‘यसैले आजै अन्तिम फैसला आउँछ भनेर ग्यारेन्टी दिन सकिँदैन ।’
आलमको मुद्दा कसको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो ११ पछि गोलाप्रथाबाट टुंगो लाग्ने उनले बताए ।
यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । हाल बानियाँको सरुवा भइसकेको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो । त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलमलाई लागेको छ ।
आलम आफैँले विस्फोट गराएर अरुलाई दोष लगाइ चुनाव जित्न चाहन्थे । तर त्यसको पोल २०७६ मा खुलेको थियो ।