
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावका कारण केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रक ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ ।