
काठमाडौं, १८ असोज — दक्षिण र उत्तर कोरियाबीचको सम्बन्ध जहिले पनि तनावपूर्ण नै रहन्छ । त्यसैको असरले गर्दा होला दुई देशबीचको २५० किलोमिटर लामो सीमा संसारकै सबभन्दा खतरनाक क्षेत्र मानिएको छ ।

सीमाक्षेत्रलाई डिमिलिटराइज्ड जोन भनिन्छ ।
यहाँ जानका लागि पर्यटकले सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । आफ्नो मृत्युका लागि म आफैं जिम्मेवार हुन्छु भनी पर्यटकले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।
सीमाक्षेत्रको पनमुंजोम चाहिँ सर्वाधिक खतरनाक छ । यो संवेदनशील क्षेत्रमा कुनै पनि बेलामा गोली चल्न सक्छ । चोट वा मृत्युको जिम्मेवारी पर्यटक आफैंले लिनुपर्छ ।
सउलभन्दा ५५ किलोमिटर उत्तरमा रहेको सानो गाउँ पनमुंजोममा सन् १९५३ मा कोरियाली युद्ध अन्त्यका लागि दुई देशबीच सम्झौता भएको थियो ।
तर दुई देशले युद्ध अन्त्यको सहमति गर्दै गरेनन् । यहाँ ६० वर्षभन्दा बढी बितिसक्दा पनि आधिकारिक रूपमा युद्ध जारी छ ।
डिमिलटराइज्ड जोनमा ठूलो संख्यामा गार्डहरू बस्छन् । दक्षिण कोरियाका तर्फबाट अमेरिकी गार्डहरू पनि यहाँ बस्छन् ।
असैन्यीकृत इलाका भनेपनि यो ठाउँमा हतियारको ठूलो भण्डार छ । सीमाक्षेत्रमा ल्यान्डमाइन, काँडेतार र ट्यांकलाई रोक्ने स्टप लाइन छ ।
यति खतरनाक ठाउँ भएपनि यहाँ हजारौं पर्यटकहरू पुगिरहेका हुन्छन् । यहाँको आकर्षणको केन्द्र भनेको एकतल्ले नीलो भवन हो जहाँ दुई देशका अधिकारीहरू खास अवसरमा भेटघाट गर्छन् ।
यहाँ पुग्ने पर्यटकलाई उत्तर कोरियाली गार्डहरूसँग आँखा नजुधाउन तथा कुनै पनि किसिमको इशारा नगर्न चेतावनी दिइन्छ । अनि यहाँ खास ड्रेस कोडको पनि पालना गर्नुपर्छ ।
एजेन्सी