१६ असार २०८३, मंगलबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण सेवा प्रभावित

माघ १, २०८०
धरान
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण सेवा प्रभावित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएचआईएस)का चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आज आकस्मिक कक्षबाहेकका ओपिडी तथा बिल काउन्टर बन्द छन् । आन्दोलनकारी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । उनीहरुले आइतबारदेखि अस्पतालका सेवा ठप्प पारेका थिए । अस्पतालका सेवा ठप्प भएपछि टाढाबाट उपचार गराउन आएका बिरामी समस्यामा परेका छन् । 

    प्रतिष्ठानका कर्मचारीले यसअघि गत असोज र कात्तिकमा आन्दोलन गरेका थिए । करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो ।

    सहमतिअनुसार अन्तर्वार्ता प्रक्रिया सुरु नभएपछि आन्दोलनकारी पुस २४ देखि पुनःआन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ति जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ देखि प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । सोहीअनुसार सेवा ठप्प पारिएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।

    गत पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइए पनि कामु उपकुलपति प्रा डा कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन । त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा डा कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने जनाएका  छन् ।

salt training

कमेन्ट गर्नुहोस्