
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।”
कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेतानेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी थिए । रासस