०६ साउन २०८३, बुधबार
सवारी दुर्घटना भएको अनुमान

त्रिशुलीमा गाडी खसेको आशंका, खोजी गर्न गोताखोरको टोली परिचालन

माघ २, २०८०
काठमाडौं
त्रिशुलीमा गाडी खसेको आशंका, खोजी गर्न गोताखोरको टोली परिचालन
फाइल तस्वीर

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशुली नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली परिचालन गरिएको छ । मंगलबार बिहानै गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेको मुग्लिन प्रहरीले जनाएको छ । 

राति नदीमा बत्ती बलेको देखेपछि एक जना स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार नदीमा गाडी खसेको हुनसक्ने अनुमान छ । यद्यपि कुनै जानकारी भने मिलेको छैन । 'राति नदीमा पानीभित्र बत्ती बलेको देखिएको थियो,' मुग्लिन प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने, 'पानीभित्र बत्ती बलेको देखिएकोले गाडी खसेको हो कि भन्ने आशंका हो । यद्यपि कुनै जानकारी मिलेको छैन । गोताखोरको टोलीले डुंगा लिएर खोजतलास गरिरहेको छ ।'

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको उनले बताए । तर, त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि यकिन नभएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्