काठमाडौं, १८ भदौ – चलचित्र ‘छक्का पञ्जा’ र यही नाममा ‘२’ थपी निर्माण गरिएको चलचित्र ‘छक्का पञ्जा २’ मा राजाको भूमिकामा देखिएका दीपकराज गिरीलाई कमैले मात्र राजाको नामले चिन्लान् तर उनले आफूलाई हास्य टेलिचलचित्र ‘तीतो सत्य’ बाट परिचित गराइसकेका छन् ।
टेलिभिजनका दर्शकबीच लोकप्रिय दीपकराज गिरी फिल्ममा हात हालेसँगै विवादमा तानिन थालेका थिए । कतिले त उनलाई फिल्म बनाउन नजान्ने फिल्मकर्मी पनि भन्छन् । तर उनको समूहले बनाएको धेरै चलचित्रले आक्रामक व्यापार गरेका छन् । अझ चलचित्र ‘छक्का पञ्जा’ ले सत्र करोड कमाएपछि त झनै विवादमा तानिए गिरी ।

सिनेमा हलमा सुखद् व्यापार गरेको चलचित्र युट्युब रिलिजसँगै विभिन्न अभिव्यक्ति आए भने महिला अधिकारीकर्मी चलचित्र ‘छक्का पञ्जा’ ले महिलाको धज्जी उडाएको समेत भन्न भ्याए । पोष्टर चोरी होस् या गीत चोरी हुँदा होस् उनकै नाम मुछिने गर्छ । उनी भने यस्ता विवादलाई ‘स्पष्टीकरण’ दिन पछि पर्दैनन् । सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिय देखिने गिरीले आफ्नो विपक्षमा लेखिएका स्टाटसमा पनि सकेसम्म रिप्लाइ गर्न भ्याइसकेका हुन्छन् ।
गीत चोरी होस् या संगीत चोरी, त्यसमा पनि गिरी नै जोडिन्छन् । आखिर किन जोडिन्छन् त गिरी सधै विवादमा । यसलाई गिरीले सफलता पाएकाले खुट्टा तान्ने गरेको बताउँदै आएका छन् । एकथरीले भने उनले नकारात्मक प्रतिक्रियालाई पचाउन नसक्ने बरु उल्टो स्पष्टीकरण दिनतर्फ उन्मुख भएकाले विवादमा तानिएको अड्कल काट्छन् । जे होस्, उनी विवादमा तानिँदा उनको फिल्मको व्यापारलाई भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पुगेकै छ ।