२८ जेठ २०८३, बिहीबार

दलहरूबीच सहकार्य र एकताको विकल्प छैन, जनतामा निराशा बाँड्ने काम बन्द गरौं : वर्षमान पुन

माघ २, २०८०
रोल्पा
दलहरूबीच सहकार्य र एकताको विकल्प छैन, जनतामा निराशा बाँड्ने काम बन्द गरौं : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनतामा निराशा बाँड्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।​​​​

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलवार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि सम्भव नरहेको बताए ।​​ नकारात्मकता र निराशा बाँड्नेहरूले समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो । 

पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू भएको भन्दै नकारात्मकता हाबी भएका कारण साकारात्मक कामहरूको कम चर्चा भएको बताए ।

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरू हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निराशा बाँड्नेहरूले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरूले समाजका लागि सम्झनलायक योगदान दिन सकेको उदाहरण पनि छैन ।’

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरूकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औंल्याए ।

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, उनले भने, 'कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौं । केहीमा पछि छौं । मुलुकको विकास जरुरी छ । त्यसका लागि दलहरूबीच सहकार्य र एकताको विकल्प छैन ।’

पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरू भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए । 

प्रधानमन्त्रीको बितेको एक वर्षे कार्यकाल सुशासन र भ्रष्टाचार नियन्त्रणमा सम्झनलायक भएको दाबी उनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्