२३ असार २०८३, मंगलबार

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

माघ २, २०८०
काठमाडौं
सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र लेखी माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्यरूपमा नलिन रास्वपाले आग्रह गरेको छ । 

सो पार्टीका महामन्त्री तथा प्रवत्ता डा मुकुल ढकालले यस वर्षको मङ्सिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार सात सय ४५ वटा दुर्घटना भएको र नौ सय १६ जनाले ज्यान गुमाएको बताए । उनले भने, “दुई हजार सात सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् । त्यसमा छ जनाको मृत्यु हुन्छ । चौध जना गम्भीर घाइते हुन्छन् । पछिल्लो तीन वर्षमा ५८ हजार आठ सय ७८ वटा दुर्घटना हुँदा छ हजार एक सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार सात सय ७१ जना गम्भीर घाइते भए ।”
 
प्रत्येक वर्ष औसतमा दुई हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपालका ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको प्रवक्ता ढकालले बताए । 
 
रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ । चालक अनुमतिपत्र (लाइसेन्स)मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने गरी नीतिगत सुधार गर्न रास्वपाले आग्रह गरेको छ । सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन भनेर पनि उसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्