
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
बुधवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयसहितका निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो बर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए । साथै तत्कालीन र दीर्घकालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशनसमेत दिएका छन् ।
उनले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरूलाई राम्रा, संकटमा रहेका र डुबेका सहकारीहरूको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए ।
उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तीन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औंल्याए ।
सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए।