
अभिनेता पल शाह र कुन्दन भारद्वाजको मुख्य भुमिका रहने फिल्म ‘मायाका रंगहरू’मा अभिनेता सुनील थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् ।
केवल तामाङको निर्माण तथा डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सिक्किमसहित दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ ।

पुनम तामाङ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता आर.बी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् ।
फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।
पर्यटन प्रबर्द्धनको लागि फिल्म भन्ने उद्देश्यले आफूले यो फिल्म निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।
