
इटालियन क्लब एएस रोमाले आफ्ना पूर्वकप्तान डानिएल डे रोसीलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
मंगलवार मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको रोमाले रोसीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनलाई यस सिजनको अन्त्यसम्मका लागि जिम्मेवारी तोकिएको रोमाले जनाएको छ ।
रोसीले सन् २००१ देखि २०१९ सम्म कप्तान र खेलाडीको रुपमा रोमामा बिताएका थिए । उनले ले कुल ६१६ खेलमा ६३ गोल गरेका । रोमामै खेल्दा ताका उनी सम्मिलित इटालियन राष्ट्रिय टोलीले सन् २००६ मा विश्वकपको उपाधि जितेको थियो ।
जारी सिजन खराब लयमा रहेको रोमा सिरी ‘ए’को नवौँ स्थानमा छ । गत हप्ता शहरी प्रतिद्धन्द्धी लाजियोसँग पराजित भएपछि रोमा कोपा इटालियाबाट बाहिरिएको थियो । यसलाई लिएर माउरिन्हो बर्खास्तीमा परेका हुन् ।
रोमाले अब अर्को खेल आगामी शनिवार भिरोनासँग खेल्नेछ ।
यसअघि रोसीले इटालीको तेस्रो डिभिजन सिरी ‘सी’ क्लब स्पाल एफसीको प्रशिक्षण सम्हालेका थिए ।