
विश्वकप विजेता अर्जेन्टिनी राष्ट्रिय फूटबल टोलीले आगामी मार्चमा चीन आएर २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
भर्खरै आठौं पटक फिफा पुरुष वर्ष खेलाडी बनेका लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले १ खेल घरेलु टोली चीनविरुद्ध खेल्ने तय भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन् ।
अर्जेन्टिनाविरुद्ध खेल्ने अर्को टोली भने युरोपियन हुने बताइएको छ । तर कुन टोली हुने भन्ने चाहिँ तय भएको छैन ।
यद्यपि, सम्भावित टोलीमा क्रोएसिया, टर्की, चेक रिपब्लिक र हंगेरीको नाम छ ।
यी २ खेल मार्च १८ र २६ तारिखमा हुने सम्भावना छ ।
साविक विजेता अर्जेन्टिनाले जुनमा अमेरिकामा शुरू हुने कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीस्वरुप यी २ खेल खेल्न लागेको हो ।
पछिल्लो खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको थियो । गत मंसिरमा फिफा विश्वकप २०२६ छनोटअन्तर्गत भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।