०५ साउन २०८३, मंगलबार

कोशीका मुख्यमन्त्रीको एक करोड ऋण, कुन मन्त्रीको सम्पत्ति कति ? [विवरणसहित]

माघ ३, २०८०
विराटनगर
कोशीका मुख्यमन्त्रीको एक करोड ऋण, कुन मन्त्रीको सम्पत्ति कति ? [विवरणसहित]

कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धनी मुख्यमन्त्री देखिएका छन् भने गरिब भौतिक पूर्वाधार मन्त्री देखिएका छन् । 

मुख्यमन्त्री केदार कार्कीको जतासुकै जग्गा रहेको देखिन्छ भने भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले लैनो गाई, गोरूदेखि बाख्रासम्म सम्पत्ति विवरणमा देखाएका छन् । 

मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री केदार कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ भने बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । 

यस्तै उनको परिवारका नाममा २५ तोला सुन र ८० तोला चाँदी रहेको उल्लेख छ । यस्तै श्रीमती शान्तादेवी बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । उक्त रकम तलब भत्ता, बचत र ब्याजबाट आम्दानी गरेको उल्लेख छ ।  

यसैगरी विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफू, श्रीमती र परिवारका सदस्यको नाममा १ लाख ८७ हजार बराबरको रहेको छ । 

कृषि विकास बैंकको २ हजार २७२ कित्ता रहेको उल्लेख छ । यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । यस्तै उनको श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कूटर मात्रै रहेको उल्लेख गरेका छन् । 

यस्तै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बर वडामा पाँच ठाउँमा जग्गा रहेको उल्लेख छ । उनले पैतृक सम्पत्ति र अलैंची बेचेर जग्गा खरिद गरेको जनाएका छन् । उनको विवरणमा १० तोला सुन रहेको उल्लेख छ ।

यस्तै बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको उल्लेख छ । यस्तै उनको यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालुलुङ २, झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको उल्लेख छ । यस्तै उनले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको देखाएका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको उल्लेख छ । 

उनले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा दुहुनो गाई १ वटा, हल गोरु १ वटा र खसी १ वटा रहेको उल्लेख गरेका छन् । 

यस्तै वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा ५० लाखमा खरिद गरेको १ कट्ठा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख छ । यस्तै १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ । 

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनको एउटा होण्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख छ । यस्तै उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्