
उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहोर विसर्जनस्थल (डम्पिङ साइट)मा फालिएको फोहोरमा नवजात शिशुको शव फेला परेको छ ।
सङ्कलन गरिएको फोहोर छुट्याउने क्रममा कामदारले कपडाभित्र शिशुको शव फेला पारेका वडासदस्य पष्पु खाँले बताए ।
शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहोरमा शव भेटिएको हो ।
शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । ‘आजै उठाइएको फोहोरमा शव रहेछ’, वडासदस्य खाँले भने, ‘नगरपालिकाको ट्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।’
इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।