
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रूपमै अग्रणी कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । ललितपुरको कुपण्डोल हाइटमा खुलेको नयाँ शोरुमको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे ।
शोरुम उद्घाटन गर्दै मेयर महर्जनले आफू सधैं इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताए । महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा उनले कम्पनीलाई धन्यवाद दिए । ‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने । मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु,’ उनले भने ।

थप ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरूमध्ये कोर सिटीभित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारीसमेत गरिरहेको उनले बताए । कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।
नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।
यो नयाँ शोरुमसहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।