
राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो ।
उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले विभिन्न राजनीतिक मुद्दाहरू लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए ।
थाइल्याण्डमा राजा महा बजिरालोङकोर्न र उनका परिवारको आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ ।
सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कठोर ‘लेज–म्याजेस्टे’ कानुनमा परिवर्तनको माग गरिएको थियो ।