०२ साउन २०८३, शनिबार

बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतङ्कवादी समूहका रूपमा प्रतिबन्ध

माघ ५, २०८०
काठमाडौं
बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतङ्कवादी समूहका रूपमा प्रतिबन्ध

सुन्नी इस्लामवादी राजनीतिक सङ्गठन हिज्ब उत–तहरिरलाई बेलायतमा औपचारिकरूपमा प्रतिबन्ध लगाइएको गृह मन्त्रालयले शुक्रबार बताएको छ । 

गृहमन्त्री जेम्स क्लेभर्लीले उक्त समूहलाई गैरकानूनी घोषणा गर्ने प्रक्रिया सुरु गरिएको सोमबार घोषणा गरे । उनले उक्त समूहलाई यहुदी विरोधी उल्लेख गर्दै भने, “उक्त समूहले सक्रियरूपमा आतङ्कवादलाई बढावा दिन्छ र प्रोत्साहित गर्छ ।”

सांसदहरूले यसअघि नै हिज्ब उत–तहरिरलाई प्रतिबन्धित ७९ समूहको सूचीमा जोड्ने मन्त्रीको प्रस्तावलाई अनुमोदन गरेका छन् । उक्त सूचीमा अल–कायदा र कथित इस्लामिक स्टेट समूह सामेल छन् । 

    हिज्ब उत–तहरिरसँग सम्बन्धित वा उसका लागि ‘समर्थन निमन्त्रणा गर्ने’ लाई अब १४ वर्षसम्मको कारागार सजाय हुने तथा दोषी ठहर कुनै पनि व्यक्तिलाई जरिवाना र कारागार पनि हुनसक्ने गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । 

    हिज्ब उत–तहरिरले अक्टोबर ७ मा इजराइलमाथि हमासको आक्रमण र सम्बन्धित घटनाहरूको ‘प्रशंसा’ गरेका कारण समूहमाथि प्रतिबन्ध लगाउने कदम चालेको बेलायत सरकारले बताएको छ । 

    “हिज्ब उत–तहरिरसँग इजराइल तथा यहुदीविरुद्ध आक्रमणको व्यापकरूपमा प्रशंसा गरेको र खुसियाली मनाएको इतिहास छ”, विज्ञप्तिमा भनिएको छ, “बेलायत यहुदीविरोधी विरुद्ध दृढतासाथ खडा छ र कुनै पनि रूपमा आतङ्कवादको प्रवर्द्धनलाई सहने छैन ।”

    हिज्ब उत–तहरिरको दीर्घकालीन लक्ष्य इस्लामिक कानूनअन्तर्गत शासित खलिफाको स्थापना गर्नु हो । गृह मन्त्रालयका अनुसार सन् १९५३ मा स्थापना भएको यो समूह लेबनानस्थित छ र बेलायत, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित कम्तीमा ३२ मुलुकमा सञ्चालनमा छ । उक्त समूहलाई यसअघि नै बङ्गलादेश, इजिप्ट, जर्मनी, पाकिस्तान र धेरै मध्य एसियाली तथा अरब मुलुकमा प्रतिबन्ध लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्