
यातायात व्यवस्था विभागले ६ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नेपाल आइपुगेको जनाएको छ ।
विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।
विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरूले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो ।
सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए ।
प्रवक्ता पनेरूका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेस्ट गराइन्छ । उनले भने, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौं र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया शुरू गर्छौं ।’
विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको शुरू हुने निर्देशक पनेरूले प्रतिबद्धता जनाए । उनले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिए ।