
त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको नतिजासम्म नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर क्यालेन्डर सार्वजनिक गरेको हो ।
त्रिविमा २०६२÷६३ को आन्दोलनपछि शैक्षिक क्यालेन्डर नियमित हुन सकेको छैन । शैक्षिक क्यालेन्डरमा वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको कार्यव्रmम समावेश छ । त्रिविको परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ मा बसेको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्न स्वीकृति दिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको खबर गोरखापत्रमा छापिएको छ ।