
प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधि एपीएफ क्लबका क्षितिज खनाल र कस्तुरी कलेजकी सीमा राजबंशीले जितेका छन् ।
फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ क्षिजितले एपीएफकै देवराज रानालाई २१–१९, २१–१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् ।
यस्तै सीमाले महिला एकलको फाइनलमा नेपाल पुलिस क्लबकी नीता लम्साललाई २१–१०, १५–२१, २१–१६ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेकी हुन् । पुरुषतर्फ तेस्रो स्थानमा नखिपोटका विवेक चौधरी र एपीएफका अमन महर्जन तथा महिलातर्फ एपीएफकै शोभा गौचन र रिना तामाङ रहे ।
उपाधि विजेता खेलाडीहरूले जनही ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार र तृतीय स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गरे । साथै उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए ।
एकेडेमीको बसुन्धरास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीले आफ्नै क्लबका सुजन थापा र राजु थापाको जोडीलाई १४–२१, २४–२२, २१–१४ ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी तथा सुनिल जोशी र दीपक बोहराको जोडी रहे ।
शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ब्वाइज यू– १३ तर्फको प्रतिस्पर्धामा एपीएफका आरुष सिम्खडाले जीत हात पारे । उनले कैलालीका रियांश चौधरीलाई २३–२१, २१–१६ ले पराजित गरेका हुन् । आरुषले नगद १५ हजार र रियांसले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै तेस्रो स्थान प्राप्त गर्ने कास्कीका आदित्य चौधरी र तनहुँका सफल भुजेलले ५–५ हजार पाए । साथै उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गरे ।
यसैगरी गल्र्सतर्फ मोहन भुगोल फाउन्डेसन, कास्कीकी निभा राईले दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्रीलाई २१–१३, २१–११ ले पराजित गर्दै उपाधि उचालिन् । तेस्रो स्थानमा सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र ग्यालेक्सी स्कूलकी अप्सरा यादव रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै यू–१९ तर्फको ब्वाइज एकलमा एपीएफका रोशन साउदले आफ्नै क्लबका अरुण अधिकारीलाई २१–१९, २१–१५ ले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भए । तेस्रो स्थानमा एपीएफका अनिल मल्ल र युनिटीका सुनिल कार्की रहे । यस्तै गल्र्सतर्फ दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले जीत हात पारिन् । एपिएफकी रिना तामाङसँग पहिलो सेट १५–२१ ले गुमाएकी अश्मिता दोस्रो सेटमा पनि १३–१६ ले पछि परेकी थिइन् । तर रिनाले घुँडामा चोट बोकेर खेल बीचैमा छोडेपछि अश्मिता विजयी घोषित भएकी हुन् । तेस्रो स्थानमा इमाडोलकी टिशारानी शाक्य र मोहन भुगोल फाउन्डेसनकी निभा राई रहे ।
शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको भेट्रान ४५ वर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङको जोडीले जीत हात पारे । शम्भु र राजेशको जोडीले चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई १९–२१, २१–११, २१–११ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा टोखाका टीका थापा र रामशरण केसीको जोडी तथा आयोजक फिटनेस पार्कका सुभाष श्रेष्ठ र प्रेम घलेको जोडी रहे ।
विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद ३० हजार, २० हजार र १० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
भेट्रान ५५ वर्षमाथिको स्पर्धामा धादिङका विष्णुलाल श्रेष्ठ र चितवनका बुद्धि चौधरीले जीत हात पारे । श्रेष्ठ र चौधरीको जोडीले कास्कीका मनोजकुमार श्रेष्ठ र दिल पुनको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा आयोजक फिटनेस पार्कका उमेश केसी र पूर्णचन्द्र जोशी तथा धन्यन्तरीका गणेश थापा र गंगाबहादुर राईको जोडी रहे ।
शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
विजयी खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्रकुमार थिङ, कोशी प्रदेश ब्याडमिन्टन संघका संयोजक योगश्वर श्रेष्ठ, सदस्य भवानी आङदम्बे, सहआयोजक बट्टार युथ क्लबका अध्यक्ष एवं बागमती प्रदेश फूटबल संघका सहमहासचिव सुरज श्रेष्ठ, ग्यालेक्सी पब्लिक स्कूलकी प्रिन्सिपल सुदिना गुरुङ, समाजसेवी नीराजन सिम्खडा लगायतले पुरस्कार वितरण गरेका थिए ।