०४ साउन २०८३, सोमबार

म्यान्मारसँगको सीमामा तारबार लगाउने योजनामा भारत

माघ ७, २०८०
काठमाडौं
म्यान्मारसँगको सीमामा तारबार लगाउने योजनामा भारत

नयाँ दिल्ली–भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मारसँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतवार बताएको छ । 

विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो । शाहले शनिवार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, ‘सरकारले पूरै खुला भारत–म्यान्मार सीमामा तारबार लगाउने निर्णय गरेको छ ।’

भारत र म्यान्मारबीच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताए । 

उक्त सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ । सीमावर्ती क्षेत्रमा कयौँ मानिसबीच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ । 

टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भने, ‘हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।’ सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ । 

नोभेम्बरमा अराकान आर्मी (एए) लडाकूहरूले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्माका केही भागमा लगातार झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ । 

अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागु भएको छैन । यहाँ लडाइँ जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्