
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था गर्ने बताएका छन् ।
सोमवार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण)को अनुगमन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । त्यसका लागि बजेटमा यथोचित प्राथमिकता दिइने उनको भनाइ थियो ।
‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन् । पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ’, उनले भने, ‘यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ। यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ।’
अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे ।
‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौं । फिल्डमा तपाईँहरू काम गर्नुस्। पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्। यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला’, उनले भने ।
अनुगमनका क्रममा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको बताउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए ।
एक्सन रुमको अनुगमनमा प्रधानमन्त्री र उर्जामन्त्रीसँगै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल लगायतका आयोजना प्रमुखहरू उपस्थित थिए ।