नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।
आज डोटीको सिलगढीमा नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताए ।
‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ । यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ’, उनले भने ।
डोटीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले सो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।
उनले उक्त वैकल्पिक राजमार्गका विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै भने, ‘डोटीको विकासका लागि म सधैं अग्रसर छु । मेरो कार्यकालसम्म म जिल्लाको मुहार फेर्ने गरी विकासका कामलाई अघि बढाउनेछु ।’