०६ साउन २०८३, बुधबार

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा कालोपत्रका लागि परीक्षण सुरु

माघ १२, २०८०
काठमाडौं
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा कालोपत्रका लागि परीक्षण सुरु
फाइल तस्बिर

  मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका इक्युमेन्ट तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए । 
जामनुेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने कन्टयाक्टरले प्रतिबद्धता जनाएअनुरुप प्रक्रिया अघि बढाइएको हो । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

त्यसैगरी मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रको कार्य भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्डको काम २०८१ वैशाखसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्