०८ साउन २०८३, शुक्रबार

धोकेबाज कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं : वर्षमान पुन

माघ १३, २०८०
काठमाडौं
धोकेबाज कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं : वर्षमान पुन
फाइल फोटो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कांग्रेसको भूमिकापछि गठबन्धनबारे नै गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

रोल्पामा जिल्ला स्तरका नेताको प्रशिक्षण कार्यक्रममा उपमहासचिव पुनले कांग्रेसलाई हरेकपटक माओवादीले इमानदार हुँदै मत दिए पनि उसले धोका दिएको बताएका हुन् । यसैले कांग्रेससँगको गठबन्धनबारे अब गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए ।

‘राष्ट्रिय सभामा कोशीको परिणामपछि राजनीतिमा नयाँ मोड आएको छ । यसैले हामी कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं’, पुनले भने, ‘हामीले कांग्रेससँग गरेको सत्ता गठबन्धनले हामीलाई कति राजनीतिक घाटा वा नाफा भयो ? यो समीक्षा गर्ने बेला भयो । हामी सधैं कांग्रेसलाई मत दिएर जिताउने तर हाम्रा उम्मेदवारलाई उसले सधैं हराउने सिलसिला कहिलेसम्म चल्छ ?’

कोशीमा गत बिहीवार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनतर्फ माओवादी उम्मेवदार चम्पादेवी सहजै निर्वाचित हुनुपर्ने थियो । तर कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी कार्की अप्रत्याशित रुपमा पराजित हुन पुगेकी थिइन् । एमालेकी रुक्मिणी कोइराला विजयी भएपछि सत्ता गठबन्धनमा खैलाबैला भएको छ । 

अहिले मात्रै होइन कोशीमा माओवादीले मुख्यमन्त्री पाउने स्थितिमा पनि कांग्रेसबाटै धोका भएको बुझाइ माओवादीको छ । 

दुई वर्ष अघि पनि कांग्रेसकै कारण माओवादीले कोशीमा राष्ट्रिय सभामा जित्ने अवस्थाबाट वञ्चित हुनुपरेको पुनको भनाइ छ । 

अब कांग्रेसले आफूहरूबीच समस्या छ भनेर उन्मुक्ति नपाउने चेतावनी पुनले दिए ।

गठबन्धनको राजनीतिमा चुनावदेखि मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा यसरी पटक-पटक धोका पाउनु अराजकता र अराजनीतिक भएको उनको टिप्पणी छ ।

यसैले कांग्रेसले दिएको पटक-पटकको धोकाबारे सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्