१० साउन २०८३, आइतबार

पाकिस्तानमा इमरानमाथि अन्यायः उनी नेतृत्वको दललाई लगाइयो निर्वाचन अभियानबाट किनारा

माघ १३, २०८०
काठमाडौं
पाकिस्तानमा इमरानमाथि अन्यायः उनी नेतृत्वको दललाई लगाइयो निर्वाचन अभियानबाट किनारा

मियाँवाली–क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुख्र्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय छन् । तर सडकमा टाँसिएका राजनीतिक पोस्टरमा उनको अनुहार देखिँदैन र उनी नेतृत्वको दलको झण्डा भेटिँदैन । 

पाकिस्तानको शक्तिशाली सेनाको सहयोग देखिएको वर्तमान् सरकारले व्यापक रूपमा गरेको निरन्तर कारबाहीका कारण पूर्वप्रधानमन्त्री खान र उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी मतदानअघि चुनावी अभियानमा लगभग छायाँमा परेको छ । 

मियाँवालीबाट पीटीआईका लागि पूर्वप्रधानमन्त्री खानको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेका ६१ वर्षीय जमाल अहसान खान भन्छन्, ‘हाम्रा पार्टीका कार्यकर्ताहरूले उत्पीडनको सामना गरिरहेका छन् र मलाई व्यक्तिगत रूपमा ज्यान मार्ने धम्की आएको छ ।’

‘मैले आफ्नो जीवनकालमा यो जस्तो दवावमुलक र चेतावनीपूर्ण निर्वाचनको कहिल्यै अनुभव गरेको थिइन,’ उनले थपे ।

दर्जनौं कानूनी चुनौतीको सामना गरिरहेका खानलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएका कारण फेब्रुअरी ८ मा चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

देशभर, पीटीआईलाई  र्‍याली आयोजना गर्न अवरोध गरिएको छ र सो पार्टीका कार्यक्रम तथा प्रचार अभियानलाई व्यापक सेन्सर गरिएको छ भने सञ्चारमाध्यमलाई विपक्षीहरूको कार्यक्रमहरूका रिपोर्टमा प्रतिबन्ध लगाइएको छ । यसले गर्दा उनले पार्टीको अभियान लगभग पूर्ण रूपमा सामाजिक सञ्जालमा सीमित छ ।
निर्वाचन आयोगले देशभरका दर्जनौँ उम्मेदवारको मनोनयनपत्रसमेत अस्वीकृत गरिसकेको छ ।

पार्टीका अन्य उम्मेदवारहरू जस्तै, वफादार अहसान खान पनि चुनावको तयारीको दौडान मा नै पनि खुलारूपमा सभाहरू गर्न वा पर्चाहरू वितरण गर्न असमर्थ देखिन्छन् । 

उनले एएफपीसँग भने, ‘पाकिस्तानको प्रमुख राजनीतिक दलको उम्मेदवारको हैसियतले मैले आफ्नो चुनावी अभियानलाई अर्थपूर्ण रूपमा सञ्चालन गर्न नसक्नु दुःखद् भएको छ ।’

मतदान हुन दुई हप्ता बाँकी छ, २४ करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा सामान्यतया चुनाव हुने उत्साह र उमङ्गमा कोही पनि छैन ।

स्थानीयका लागि खान नायक

पञ्जाबको मध्य प्रान्तको ग्रामीण जिल्ला मियाँवालीबाट खानले आफ्नो राजनीतिक जीवनको शुरूवात गर्दै तीन पटक सांसदको रूपमा निर्वाचित भएका छन् । 

सन् २०१८ मा पीटीआईको राष्ट्रिय विजय, भ्रष्टाचार र पुस्तौंदेखि देशमा शासन गर्दै आएको पारिवारिक वंशवादको अन्त्य गर्ने वाचाबाट प्रेरित भएका उनी र पीटीआई गठबन्धनलाई पाकिस्तानी जनताले प्रधानमन्त्री बन्ने जनमत दिएका थिए । 

स्थानीय पत्रिका नवा–ए–शरार वा डेली स्पार्कका प्रधान सम्पादक राना अमजद इक्बालले एएफपीसँग भने, ‘मियाँवालीमा उहाँले विशेष गरी एक अस्पताल र एक विश्वविद्यालय स्थापनार्थ महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । एकहत्तर वसन्त पार गरेका उहाँ ‘राजनीतिक व्यक्तित्व मात्र हुनुहुन्न, उहाँ पाकिस्तानी जनताका नायक हुनुहुन्छ ।’

‘उहाँको स्थायी राजनीतिक सान्दर्भिकताको प्राथमिक र सबैभन्दा महत्वपूर्ण कारण उहाँको संस्थापन विरोधी अडान हो,’ इक्बालले भपे । 

खानलाई व्यापक रूपमा सेनाको समर्थन प्राप्त भएको विश्वास गरिएको थियो, तर उनको नेतृत्वको समयमा उनले पाकिस्तानी राजनीतिमा शक्तिशाली जनरलहरूको नियन्त्रणविरुद्ध गतिविधि अघि बढाए । 

अन्ततः उनले आफ्नो पक्ष गुमाए र सन् २०२२ मा संसद्को अविश्वासको मतमा उनका दर्जनौं सांसदहरूले दल त्याग गरेपछि उनलाई पदच्युत गरियो ।

सन् २०२३ को मे महिनामा उनको गिरफ्तारीले समर्थकहरूलाई सडकमा ल्यायो । उनीहरूले सैन्य प्रतीकहरूको विरोधमा प्रदर्शन गरे ।

हजारौं समर्थकहरूलाई गिरफ्तार गरिएको थियो मियाँवालीका आधाभन्दा बढी (करिब १००) नेताहरूको मुद्दाको सुनुवाई सैन्य अदालतहरूमा पर्खाइमा रहेका छन् । पार्टीका वरिष्ठ नेताहरूलाई हिरासतमा लिइएको थियो र पक्राउ नपरेकामध्ये दर्जनौँलाई निर्बाचनमा भाग लिनुअघि भूमिगत हुन बाध्य पारिएको थियो ।

अवकाशप्राप्त शिक्षक एजाज खानले खान अझै पनि जनतामाझ लोकप्रिय रहेको तर सेनाका लागि उनी अस्वीकार्य रहेको बताए ।

पीटीआईलाई निर्वाचन अभियानबाट नै किनारा 

यसै महिनाको शुरूमा सर्वोच्च अदालतले पीटीआईलाई आफ्नो चुनाव चिन्ह क्रिकेट ब्याटबाट चुनाव लड्न प्रतिबन्ध लगाएपछि पीटीआईलाई ठूलो झट्का लागेको थियो ।

लाखौं मानिस पढ्न र लेख्न नसक्ने देशमा मतदाताका लागि आफ्नो मनपर्ने पार्टी र उम्मेदवार चिन्नका लागि चुनाव चिह्न महत्वपूर्ण हुन्छ ।

निर्वाचन आयोगले यसको सट्टा अहसान खानलाई बोतल प्रयोग गर्न आदेश दियो, जुन चिन्ह्ललाई ग्रामीण क्षेत्रहरूमा तिरस्कारको साथ हेरिन्छ । किनभने यो रक्सीसँग सम्बन्धित छ ।

मियाँवालीमा खानका प्रतिद्वन्द्वी ओबैद उल्लाह खान आफ्नो प्रतिद्वन्द्वी राजनीतिक दललाई दिइएको सजायप्रति उदासीन हुछन् ।

‘अहिले होइन भने यो कहिले न्यायोचित हुन्छ ?’ उनले भने । 

पाकिस्तान मुस्लिम लीग (पीएमएल–एन)को तर्फबाट उम्मेदवारी दिएका उल्लाह खान पीटीआईका उम्मेदवारको विपक्षमा आफ्नो अभियान लिएर गाउँमा पसेका छन् । तर उनको अभियानलाई स्थानीय मतदाताले रूचाएको देखिँदैन । उनले गाउँलेहरूसँग खुलेर भेट्छन् । नेताहरूले उनलाई भविष्यको अनुकूलताको आशामा सम्पूर्ण समुदायको समर्थनको आश्वासन दिन्छन् ।

पीएमएल–एन अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी हो, जसलाई सन् २०१८ को चुनावअघि जेलमा राखिएको थियो र पछि स्व–निर्वासनमा जान बाध्य पारिएको थियो ।

विश्लेषकहरु भन्छन्, ‘खानको ‘पतन’पछि पाकिस्तानमा पूर्वप्रधानमन्त्री शरीफको चर्चा चुलिएको छ । शरिफलाई पाकिस्तानी संस्थापन पक्ष र सेनाको काख फिर्ता भएको छ ।’
चुनावी अभियानबाट अलग्गिए पनि मतदाताले खानप्रतिको आकर्षण गुमाएका छैनन् ।

निर्वाचनमा पहिलो पटक मतदान गर्न योग्य युवाहरूले खानलाई नै पाकिस्तानको राजनीतिको खम्बा (नायक) मानेका छन् ।

कम्प्युटर साइन्सका २३ वर्षीय विद्यार्थी हन्जाला बिन शकीलले पहिलो पटक मतदान गर्ने बताउँदै भने, ‘म इमरान खानलाई भोट दिनेछु किनभने उहाँ एक मात्र व्यक्ति हुन् जसले वास्तवमा यो देशको चिन्ता गर्नुहुन्छ भने अरूले आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन् ।’

निर्वाचनमा पीटीआईले खासै प्रचार नगरे पनि पीटीआईको आधार क्षेत्रमा अन्य दलको विजय हुने सम्भावना कम देखिएको विश्लेषकहरू बताउँछन् । 

पाकिस्तानको अहिलेको निर्वाचन त्रिपक्षीय लडाइँमा नै सीमित भएको छ । शरिफको पीएमएल–एन, खानको पीटीआई र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)बीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्