
काठमाडौं, १९ साउन - राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेललाई निर्वाचन आयोगले प्यूठान जिल्ला छोड्न निर्देशन दिएको छ ।
पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्युठानका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
पोखरेल प्यूठान जिल्लाका विभिन्न स्थानहरुमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको हो ।

साथै आयोगले पोख्रेललाई विभिन्न स्थानमा नेपाली काङग्रेसका कार्यकतासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगको निर्णयमा भनिएको छ– ‘‘राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्यकारी अधिकृतले प्युठान जिल्लाका विभिन्न स्थानमा नेपाली काङ्ग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुदाँ यहाँ जस्तो सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेश गर्न राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्द पोखरेललाई स्पष्टीकरण सोध्ने ।’’