
प्रहरी समायोजन भए पनि प्रहरीको पोशाक र दर्ज्यानी चिह्न भने नफेरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ दिनभित्र प्रहरी समायोजन गर्न निर्देशन दिएपछि आइतबार गृह मन्त्रालयमा विषयगत समितिको बैठक बसेको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा ७ वटा प्रेदशका आन्तरिक मामिला तथा कानून मन्त्रीसहितको बैठकमा यस्तो सहमति जुटेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
‘आज प्रहरी समायोजनसहित ३ वटा विषयमा छलफलका लागि पहिलो बैठक बसेको हो । यसमा केही विषयमा छलफल भएका थिए । त्यसमध्ये सबै प्रदेशमा दर्ज्यानी चिह्न र पोशाकको रङ्ग परिवर्तन नहुने भन्नेमा मोटामोटी सहमति भएको छ,’ प्रवक्ता भट्टराईले भने ।
उनका अनुसार प्रदेश प्रहरी समायोजन ऐनमा प्रदेश प्रहरीको दर्ज्यानी चिह्न कस्तो हुने भन्ने विषय छुटेको थियो ।
सातवटै प्रदेशमा अहिले संघीय प्रहरीले लगाएको जस्तै पोशाक हुनेछ, तर त्यसमा प्रदेश जनाउने ब्याच राख्ने सहमति भएको छ ।
‘ब्याच र टोपीमा प्रदेश जनाउने खालका केही संकेत हुनेछन् र अरू सबै संघको प्रहरीको जस्तै हुनेछ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
गृह प्रवक्ता भट्टराईले पनि सबै प्रदेशमा एकरूपता कायम गर्न लागिएको बताए ।
‘कन्फ्युजन नहोस्, एउटा प्रदेशको एउटा र अर्कोको अर्कै हुने अवस्था नआओस् भनेर एउटै राख्ने सहमति भएको हो,’ प्रवक्ता भट्टराईले भने ।