०५ साउन २०८३, मंगलबार

महानगरको अनुदानले तोरीखेतीप्रति आकर्षण

माघ १५, २०८०
कास्की
महानगरको अनुदानले तोरीखेतीप्रति आकर्षण

हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ ।​

तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बिउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । ​

महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बिउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए ।​

महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैं तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

‘तोरीखेती बढ्दा घरघरमा हुन तेल आयातलाई न्यूनीकरणमा मद्दत पुग्छ, अर्कातिर तोरीबारी मौरीका लागि पनि उत्तम चरन क्षेत्र हो, तोरीले प्रकृतिमा सुन्दरता पनि थपेको हुन्छ’, उनले भने, ‘यस वर्ष हिउँदे वर्षा नभएकाले सुक्खा र पाखो जमिनमा लगाइएको तोरीबालीमा केही समस्या आए पनि सिँचाइको सुविधा भएको ठाउँमा तोरीखेती फस्टाएको छ ।’

किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् । तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताए । कात्तिकमा लगाएको तोरी माघ/फागुनभित्रमा किसानले भित्र्याइसक्ने उनको भनाइ छ ।

उनले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताए । ‘धानबाली भित्र्याएपछि बाँझै रहने खेत अहिले तोरीले पहेंलपुर देखिएका छन्, महानगरपालिकाको उद्देश्य पनि हिउँदमा जग्गा खाली नरहोस् भन्ने हो’, महाशाखा प्रमुख कडरियाले भने, ‘तोरीखेतीका लागि सिँचाइमा किसानलाई सक्दो सहयोग गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्