
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।
‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज आइपुगेका उनले अहिलेको मुख्य चुनौती संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नुरहेको उल्लेख गरे । उनले भने, “कसैले प्रदेश संरचना खारेजको कुरा उठाइरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागिरहेका छन्, यस्ता कुरामा लागे मुलुक फेरि अर्को दुर्घटनामा पर्नेछन् ।”
सङ्घर्षपछि प्राप्त भएको सङ्घीयता कार्यान्वयनका क्रममा केही त्रुटि भए पनि त्यो त्रुटि सच्याएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको उनले बताए । उनले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दाबी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाउँदै संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि कांग्रेस अघि बढिरहेको समेत बताए ।
उनले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाउँदै अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेसको प्रतिनिधित्व हुने उल्लेख गरे।