
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् ।
आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उनको भनाइ छ ।
छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराए।
प्रधानमन्त्रीले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराएको अध्यक्ष भट्टले बताए । “बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री हुनुहन्छ”, उनले भने, “हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच छ ।”
जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०÷०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गरेको उनले जानकारी दिए ।