अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले 'निलम्बित मृत्युदण्ड'को सजाय सुनाएको छ ।
चिनियाँ कानूनअनुसार जब कुनै दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइँदैन । उनलाई मृत्युदण्डका लागि दुई वर्षको समय दिइने बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार मृत्युदण्डको सजाय दुई वर्षमा जन्मकैदमा परिणत हुन सक्ने सम्भावना छ । हेङजुनको मुद्दामा पनि दुई वर्षपछि उनको मृत्युदण्डलाई जन्मकैदमा परिणत गर्न सकिने विश्वास गरिएको छ ।
डा. याङ एक विद्वान र लेखक हुन् जसले चीनको मामिलामा लेख्छन् । पाँच वर्षअघि उनी जासुसीको आरोपमा चीनमा पक्राउ परेका थिए । ५७ वर्षीय याङलाई सन् २०१९ मा ग्वाङ्झाउ एयरपोर्टबाट जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो ।
अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले अष्ट्रेलिया सरकारले लामो समयदेखि उनको रिहाइको लागि निवेदन दिएको र यो निर्णयबाट चकित भएको प्रतिक्रिया दिए ।
याङले यसअघि चीनको सुरक्षा मन्त्रालयमा काम गरेका थिए ।