
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका पक्षमा संसद्मा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बिहान माओवादी संसदीय दलको बैठकमा पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
'तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,' प्रधानमन्त्री प्रचण्डले भने, 'सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेको छ । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।'
आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।'
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।'